‘मदन भण्डारी छलफल कार्यक्रम’को आठौँ श्रृङ्खला सम्पन्न
काठमाडौँ । श्रावण १९ गते ।
मदन भण्डारी फाउण्डेशनद्वारा आज काठमाडौँमा आयोजित ‘मदन भण्डारी छलफल कार्यक्रम’को आठौँ श्रृङ्खलामा प्रमुख वक्ताको रूपमा तुल्सी लाल अमात्य स्मृति प्रतिष्ठानका अध्यक्ष तथा पूर्व मन्त्री गोपाल शाक्यले मदन भण्डारीसँग भएको पहिलो भेटदेखि उहाँसँग सहकार्यको दशकौँ लामो अनुभव र अनुभूति कार्यक्रमका सहभागीहरू बिच साझा गर्नुभयो ।
मदन भण्डारीसँग तत्कालिन नेकपा (माले) गठनताकादेखि नै लामो समय सहकार्य गर्नुभएका शाक्यले मदन भण्डारी आफ्नो अध्ययनशीलता, संगठन कुशलता, अद्भूत तार्किक क्षमताका साथै अद्वितीय वक्तृत्व कलाका कारण सबैको मन जितेरै नेकपा (माले) र नेकपा (एमाले)को महासचिवको रूपमा हामी सबैको नेता बन्न सक्नुभएको कुरा उल्लेख गर्नुभयो । यसैगरी आफूभन्दा बरिष्ठ नेताहरूप्रतिको सम्मान, सादा जीवन र उच्च विचार, श्रमजीवी वर्गप्रतिको अटुट पक्षधरता र राष्ट्रियताप्रतिको दृढ अडान जस्ता अन्तरनिहित विशिष्ट गुणहरूका कारण उहाँ राष्ट्रिय राजनीतिकै सर्वाधिक प्रभावशाली नेताको रूपमा स्थापित हुनुभएको कुरा उहाँले उल्लेख गर्नुभयो ।
प्रमुख वक्ता शाक्यले भन्नुभयो, “मदन भण्डारी मानिसको ठूलो भिँडलाई एकसाथ आफ्नो विचारमा सहमत बनाउने क्षमता राख्नुहुन्थ्यो । उहाँ कुनै गुटबन्दी गरेर नेतृत्वमा पुग्नुभएको हैन, बरु सबैको मन जितेर, क्षमता देखाएर र श्रेष्ठता सावित गरेर नेतृत्वमा पुग्नुभएको हो । उहाँले जनताको बिचमा पनि आफ्नो श्रेष्ठता सावित गरेरै ‘जननेता’को रूपमा स्थापित हुनुभयो ।” । प्रमुख वक्ता शाक्यले जनताको बहुदलीय जनवादको कार्यान्वयनमा हालसम्म हासिल भएका उपलब्धी र कमीकमजोरीहरूको सिंहालोकन गर्दै यसलाई समाजवादी क्रान्तिको लागि मार्गदर्शक सिद्धान्तको रूपमा थप विकास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
मदन भण्डारी फाउण्डेशनले जननेता मदन भण्डारीको व्यक्तित्व तथा उहाँद्वारा प्रतिपादित नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादको प्रवर्द्धन, विकास तथा कार्यान्वयनका विषयमा उहाँसँग निकटमा रही सहकार्य गर्नुभएका विभिन्न व्यक्तित्वहरूसँग छलफल कार्यक्रमको आयोजना गर्दै आएको छ ।