प्रेस विज्ञप्ति
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ तथा मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार २०७९ को घोषणा
समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका प्रणेता, सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाका प्रवल पक्षधर नेपाली जनताका नेता मदनकुमार भण्डारीका राजनैतिक योगदान, सोच, विचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाई राख्न, उहाँको काम र अनुभवबाट भावि पुस्तालाई प्रशिक्षित गर्न तथा उहाँका विविध विचार र आयामहरूको अध्ययन अनुसन्धान र खोज गरी नेपाली समाजको आमूल रूपान्तरणमा ठोस योगदान पु¥याउने उद्धेश्यसहित विभिन्न कार्यक्रमहरुमार्फत २०५६ सालदेखि यो संस्था क्रियाशील रहेको छ ।
यसै सन्दर्भमा नेपालको लोकतान्त्रिक आन्दोलनमा नयाँ वैचारिक र राजनीतिक दर्शनका क्षेत्रमा जननेता मदन भण्डारीका योगदानको स्मरण गर्दै, उहाँको व्यक्तित्वलाई सम्मान गर्न र वहाँको विचार र मार्गदर्शनलाई जीवन्त बनाइराख्न सामाजिक, आर्थिक, राजनीतिक तथा सामाजिक रूपान्तरण लगायतका क्षेत्रमा महत्वपूर्ण काम गर्नुभएका व्यक्तित्वहरूलाई सामाजिक पहिचान र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्न प्रत्येक बर्ष मदन भण्डारी फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार र गत बर्ष २०७८ देखि अध्ययन, अनुसन्धान र नवप्रवर्तनका साथै समाज रुपान्तरण र विकासमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुहुने व्यक्ति वा संस्थालाई मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ ।
यस बर्ष पनि उक्त दुई पुरस्कारहरु प्रदान गर्ने यस संस्थाको निर्णयका आधारमा आवश्यक मापदण्डहरू तय गरी पुरस्कारका दुईवटा क्षेत्र चिकित्सा सेवा र खेलकुदको क्षेत्र तय गरिएको थियो । उक्त दुई क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु हुने व्यक्तित्वहरूलाई सहभागी गराउन सार्वजनिक सूचना मार्फत आवेदन आव्हान गरिनुका साथै सम्बन्धित क्षेत्रका संघ संस्थाहरूलाई उपयुक्त व्यक्ति सिफारिस गर्नका लागि पत्राचार समेत गरिएको थियो । आएका आवेदनहरु उपर छानवीन गरेर निर्णय गर्न गठित विज्ञहरूको स्वतन्त्र छनौट समितिले छलफल, विश्लेषण र गरेको निर्णयका आधारमा माथि उल्लेखित क्षेत्रहरूमा योगदान दिने व्यक्तित्वहरूलाई यो बर्षको पुरस्कारका प्रदान गरिने निर्णय गरिएको जानकारी गराउन चाहन्छौं ।
उक्त निर्णयअनुसार यो वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही, देशका दुर्गम स्थानका गरीब, असहाय तथा सेवाको पहुँचबाट बञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषतः मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दूर्गम जिल्लाहरूमा टेलिमेडिसिन सेवा,असहायहरूका लागि हाडजोर्नी र अपाङ्गतासम्बन्धी उपचारका साथै स्वास्थ्य संस्थाहरूमा गुणस्तरीय औषधि तथा स्वास्थ्य सामाग्रीहरू नियमित आपूर्ति गर्न वहुवर्षीय खरिद प्रणालीको सुरुआत लगायत स्वास्थ्य सेवाको निरन्तरता र दिगोपनाका लागि स्वास्थ्य सेवा प्रणालीको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्नु भएका सोलु दूधकुण्ड नगरपालिका–४, फाप्लु, सोलुखुम्बु निवासी श्री डा.मिङमार गेल्जेन शेर्पालाई प्रदान गरिएको छ ।
यो बर्षको मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार विगत ३१ वर्षदेखि खेलकुद विकासको विविध विधा र क्षेत्रमा संलग्न रही, कठीन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बावजुद, आफ्नै प्रयत्नका आधारमा खेलप्रति लगनशील र निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीहरूप्रतिको दृष्टिकोण परिवर्तन गर्न स्थानीय, प्रादेशिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सफलताको मानकहरू कायम गरी नयाँ पिँढीलाई प्रेरणाको स्रोतको रूपमा पहिचान बनाउँदै विभिन्न खेल गतिविधिहरूमा नियमित र निरन्तर संलग्न रहँदै सम्बन्धित खेल क्षेत्र, लिङ्गीय विभेद विरुद्ध महिला आत्मसुरक्षा तथा आत्मानुशासन क्षेत्रको ज्ञान सीपको प्रचार एवं कौशल हस्तान्तरण गरी राष्ट्रिय र अन्तर्रााष्ट्रय स्तरका खेलाडिहरूको नयाँ पुस्ता तयार गर्ने कार्यमा हालसम्म पनि निरन्तर योगदान पुर्याउने खेलकुद क्षेत्रको संस्थागत विकास तथा विस्तारमा महत्वपूर्ण नेतृत्व र विशेष भूमिका निर्वाह गर्ने कार्यमा उत्कृष्ट नमूना प्रस्तुत गर्न सफल महिला व्यक्तित्व हेटौँडा उपमहानगरपालिका–४ प्रतिभानगर, मकवानपुर निवासी श्री निरु कुमारी मगरलाई प्रदान गरिएको छ ।
पुरस्कृत हुनुहुने उहाँहरुलाई मिति २०८० असार महिनाको १४ गते जननेता मदन भण्डारीको ७२ अौं जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमकावीच जनही १ लाख नगद सहितको सम्मान–पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ । उक्त कार्यक्रम सफल पार्न यहांहरु सबैको गरिमामय उपस्थितिका लागि सादर आमन्त्रण पनि गर्दछौं ।
उहाँहरूलाई सम्मान गर्न पाएकोमा मदन भण्डारी फाउण्डेशन गौरवान्वित भएको छ । उहाँहरू दुवैजनालाई फाउण्डेशनको तर्फबाट हार्दिक बधाई एवम् सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौं । सहयोग गर्नुहुने सबैप्रति हार्दिक आभार तथा कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौं ।
धन्यवाद ।
महेन्द्र बहादुर पाण्डे
अध्यक्ष
मदन भण्डारी फाउण्डेसन
मिति: असार १२, २०८०