• विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
  • [email protected]

जननेता मदन भण्डारीको जन्म ताप्लेजुङ जिल्लाको ढुङ्गेसाँघुमा २००९ असार १४ गते भएको थियो । उहाँ मार्क्सवादमा आधारित नयाँ सिद्धान्तका प्रणेता, समकालीन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिका शिखर व्यक्तित्व, उन्नत सामाजिक-राजनीतिक संस्कारका हिमायती, लोकतन्त्रवादी, मानवतावादी राजनीतिज्ञ बन्न सफल हुनुभयो । जननेताको निधन भएको तेह्रौं दिनको अवसरमा २०५० साल जेठ १५ गते नेकपा (एमाले)ले जीवनगाथा (वि.सं. २०५०, पृ.१७) जारी गर्दै भनेको छ, ‘उहाँ पार्टीको प्रमुख सिद्धान्तकार, पथप्रदर्शक र सर्वाधिक लोकप्रिय नेता हुनुहुथ्यो ।’ प्रतिपादित सिद्धान्त, राजनीति र समसामयिक विषयलाई जनताले सजिलैसँग बुझ्‌न सक्ने शैलीमा प्रस्तुत गर्नसक्ने उहाँ उत्कृष्ट र कुशल वक्तृत्वकलाका समेत धनी हुनुहुन्थ्यो ।

सन् १९९० ताका तत्कालीन सोभियत संघ र पूर्वी युरोपका विभिन्न मुलुकहरूमा सोभियत मोडेलको समाजवादले गम्भीर धक्का खाएपछि विश्व कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा धकेलियो । नेपाली क्रान्तिलाई मार्गदर्शन गर्न जननेताले मार्क्सवादलाई सिर्जनात्मक रूपले ग्रहण गर्दै जनताको बहुदलीय जनवाद (जबज) जस्तो व्यावहारिक सिद्धान्त प्रतिपादन गर्नुभयो । यस्ता गतिविधिले अमेरिकाबाट प्रकाशित हुने चर्चित टाइम्स पत्रिकाले ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ भन्ने शीर्षक राखेर उहाँको अन्तर्वार्ता प्रकाशित गर्न बाध्य भएको थियो । दर्शनशास्त्रका ज्ञाता आफानास्येभ (सन् १९८५, पृ.२८८) भन्दछन्, ‘महान् व्यक्ति किन महान् हुन्छ भने उसले ऐतिहासिक प्रक्रियाको वस्तुगत गतिलाई बुझेको हुन्छ, सामाजिक विकासको आवश्यकतालाई देख्दछ र यी आवश्यताहरूको पूर्ति कसरी गर्ने तथा सामाजिक जीवनमा राम्रो परिवर्तन कसरी ल्याउने भन्ने कुरा थाहा पाएको हुन्छ ।’ जननेतामा यस्तै उन्नतस्तरको वैचारिक क्षमता भएकाले नै उहाँ विशिष्ट बन्नुभयो र महान् हुनुभयो ।

जननेता मदन भण्डारी तत्कालीन नेकपा (माले) को महासचिव हुनुहुन्थ्यो, जतिबेला महासचिव नै पार्टीको प्रमुख समेत हुने व्यवस्था थियो । नेकपा (माले) र नेकपा (मार्क्सवादी) बीच भएको पार्टी एकीकरणपछि बनेको नेकपा (एमाले) को उहाँ महासचिव हुनुहुन्थ्यो भने नेपालको पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी पार्टीको अध्यक्ष । २०४६ को ऐतिहासिक संयुक्त जनआन्दोलन सञ्चालन गर्न पार्टीको तर्फबाट निर्माण भएको उच्च स्तरीय संयन्त्रका संयोजकसमेत रहनुभएका उहाँ सफल आन्दोलन पछिको तीन वर्षमै आम जनताको बीचमा लोकप्रिय बन्नुभयो । उहाँ जन आन्दोलनपछि भएको आम निर्वाचनमा दुई स्थानबाट निर्वाचित हुनुभएको थियो भने २०४९ मा सम्पन्न नेकपा (एमाले) को ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशनबाट उहाँद्वारा प्रतिपादित सिद्धान्त जबज अनुमोदन भएको थियो । विश्व कम्युनिष्ट आन्दोलनमा समेत यो सिद्धान्तले तरङ्गित पारिरहेको छ । यस सिद्धान्तप्रति चासो र जिज्ञासा राख्ने तथा कतिपय पक्षहरूलाई आत्मसात गर्ने कार्य समेत अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनबाट हुँदै आएको छ ।

जननेताले २०४६ सालको आन्दोलनपछि गठित संविधान सुझाव आयोगलाई पार्टीको तर्फबाट बुझाउनुभएको सुझावमा समेत २७ बुँदे असहमति जाहेर गर्दै संविधानमा जनताको सर्वोच्चता र अपनत्व कायम गर्नुपर्ने दृष्टिकोण प्रस्तुत गर्नुभएको थियो । यसमा दिएका सुझावहरू नसमेटिएकाले त्यो संविधानलाई आलोचनात्मक समर्थन गनुपर्ने निष्कर्ष निकाल्नुभएको थियो । जननेताका सही दृष्टिकोणलाई संविधानमा समेटिएको भए मुलुकले द्वन्द्वको सामना गर्नुपर्ने थिएन भन्नेहरू समेत समाजमा प्रशस्त छन् । अझ जननेताको अवसानपछि मुलुक हत्या, हिंसा, अस्थिरता, अराजकता, दिशाहीनता र गतिहीनताको भूमरिमा फसेको थियो ।

शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धाको माध्यमबाट निकास निकाल्ने विकल्प हुँदाहुँदै उग्रवामपन्थी जडसूत्रवादी अधैर्यताका कारण माओवादीले लादेको हिंसात्मक क्रियाकलापका कारण १० वर्षसम्म (२०५२-२०६२) मुलुक हिंसामा रुमल्लिन पुग्यो र यसबाट १७ हजारभन्दा बढी नेपाली जनताले ज्यान गुमाउनु पर्‍यो, हजारौं हजार नागरिक अङ्गभङ्ग हुनुपर्‍यो, गाउँगाउँबाट मानिस विस्थापित भए, हजारौं बालबालिकाहरू अभिभावकविहीन बन्नुपर्‍यो, हजारौं महिलाको सिन्दुर उजाडियो भने अरबौंको भौतिक संरचना विनास भए । यस हिंसाको नकारात्मक परिणाम अहिले पनि देशले व्यहोर्नुपरिरहेको छ । जनताको बहुदलीय जनवादको सैद्धान्तिक हतियार बोकेको नेकपा (एमाले)ले माओवादीलाई उक्त हिंसाको गलत कार्यनीतिबाट बाहिर निकाल्न सैद्धान्तिक वैचारिक बहस तीव्र पार्‍यो भने समस्याको राजनीतिक समााधान खोज्न राज्य र माओवादीलाई आव्हान गर्यो । अन्ततः माओवादी हतियार बिसाएर शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा आउन बाध्य भयो ।

२०६२/६३ को ऐतिहासिक शान्तिपूर्ण जनआन्दोलनपछि संविधान सभाले निर्माण गरी २०७२ सालमा जारी भएको संविधानको मर्म र भावना तथा धेरै प्रावधानहरूमा जननेताले अढाई दशक पहिले उठाउनुभएका दृष्टिकोणहरू नै प्रतिविम्बित भएका छन् । वास्तवमा यो भनेको जबजको जित हो। यी सबै तथ्यहरूले मुलुकमा गणतन्त्र स्थापना भएपछि २०७३ सालमा नेपाल राज्यद्वारा मरणोपरान्त नेपाल रत्नद्वारा विभूषित जननेतामा जनताको चाहना बुझ्‌ने, मुलुकको राजनीतिक अवस्थाको सही विश्लेषण गर्न सक्ने र आमूल सामाजिक परिवर्तनको निम्ति युग सुहाउँदो सिद्धान्त सिर्जना गर्नसक्ने विलक्षण प्रतिभा थियो भन्ने कुरा सजिलै पुष्टि गर्दछन् ।

जननेताले नेपाली वामपन्थी आन्दोलनलाई दिनुभएको नयाँ दिशाका बारेमा विद्यादेवी भण्डारी (वि.सं. २०७४ पृ.७) भन्नुहुन्छ, “उहाँबाट प्रतिपादित जनताको बहुदलीय जनवादले नेपाली समाजको शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको छ । गणतन्त्र र संविधानका सम्बन्धमा उहाँका मान्यताहरू कति दूरदृष्टियुक्त थिए भन्ने कुरा २०६२/६३ को परिवर्तन र त्यसपछिको संवैधानिक विकास प्रक्रियाले स्पष्ट पारेका छन् ।”