• विनायकनगर, नयाँ बानेश्वर, काठमाडौँ, नेपाल
  • [email protected]

नेपालको बामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व जननेता मदनकुमार भण्डारीका राजनैतिक योगदान, सोंच, विचारहरूको संरक्षण एवं तिनको व्याख्या विश्लेषण र विकास गर्न तथा सामाजिक रूपान्तरण, लोकतन्त्र र राष्ट्रियताका लागि उहाँले दिनुभएको योगदानलाई चिरस्थायी बनाई राख्न, उहाँको काम र अनुभवबाट भावी पुस्तालाई मार्गदर्शन गर्न तथा उहाँका विविध विचार र आयामहरूको अध्ययन अनुसन्धान र खोज गरी विभिन्न कार्यक्रमहरू मार्फत तिनको प्रयोग गर्दै नेपाली समाजको आमूल परिवर्तन र रूपान्तरणमा ठोस योगदान पु¥याउने उद्देश्यले २०६१ सालमा स्थापित मदन भण्डारी फाउन्डेसन एक गैरनाफामूलक सामाजिक संस्था हो । फाउन्डेसन कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन ।

जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रणेता, नवीन विचारक तथा उन्नत राजनीतिक संस्कृतिका अग्रणी, सिद्धान्तनिष्ठ राजनीतिज्ञ तथा राष्ट्रियता, लोकतन्त्र, मानवअधिकार र जनजीविकाका प्रवल पक्षधर हुनुहुन्थ्यो । नेपालबाट विश्वस्तरको राजनीतिक चिन्तकका रूपमा उभ्याउन सकिने प्रमुख नेताका रूपमा उहाँलाई लिन सकिन्छ । छोटो समयको राजनीतिक जीवनमा जननेता मदन भण्डारीले विकास गरेका वैचारिक, राजनीतिक तथा साहित्यिक क्षेत्रमा पुर्याउनु भएका योगदानहरू अविस्मरणीय तथा दुरगामी छन् ।

मदन भण्डारी फाउन्डेसनले राजनीतिक वैचारिक क्षेत्रमा उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद (सिद्धान्त) लाई विभिन्न कोणबाट व्याख्या, विश्लेषण गर्दै समय सान्दर्भिक रूपमा विकास एवं प्रवद्र्धन गर्ने कामलाई अघि बढाउँदै आएको छ । यसैगरी सामाजिक क्षेत्रमा आम नागरिकको जीवनलाई उहाँका विचारसँग एकाकार गर्दै शिक्षा, स्वास्थ्य, साहित्य, संस्कृति र अर्थतन्त्रको क्षेत्रमा अध्ययन, अनुसन्धान, छलफल, अन्तक्र्रियाका साथै नीतिगत वकालत र जनहितकारी विभिन्न अभियानहरू सञ्चालन गरिरहेको छ । यसका लागि नेपाल सरकार लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग फाउन्डेसनले सहकार्य गर्दै आएको छ ।

वि.सं. २०५६ साल भाद्र १७ गत ‘मदन भण्डारी अध्ययन तथा अनुसन्धान केन्द्रको नाममा स्थापना भएको यो संस्था वि.सं. २०६१ साल भाद्र १७ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत दर्ता भएको छ । हाल यो संस्थाको सञ्जाल देशव्यापी बनेको छ ।

दूरदृष्टि

जननेता मदन भण्डारी तथा नेपालको संविधानका आधारभूत मान्यतामा आधारित न्यायूर्ण, समृद्ध र समतामुलक नेपाली समाजको स्थापना गर्न योगदान गर्नु फाउन्डेसनको दूरदृष्टि रहेको छ ।

परिलक्ष्य

जननेता मदन भण्डारीको बहुआयामिक व्यक्तित्व तथा उहाँद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद सिद्धान्तबारे विभिन्न खोज, अध्ययन, अनुसन्धान र प्रवद्र्धन गर्नुका साथै शिक्षा, स्वास्थ्य, उद्यमशीलता, खेलकुद, साहित्य र साँस्कृतिक विकास, मानवअधिकार, शान्ति तथा न्यायको प्रवद्र्धन तथा सामाजिक सेवा र समाज कल्याण एवम् सामाजिक सचेतनाका कार्यद्वारा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माणका लागि योगदान गर्नु फाउन्डेसनको परिलक्ष्य रहेको छ ।

मुख्य उद्धेश्य

फाउन्डेसनका मूलभूत उद्देश्य देहाय बमोजिम रहेका छन्ः

  1. देशको शिक्षा, संस्कृति, राजनीति जस्ता समसामयिक मुद्दामा छलफल चलाउँदै उत्कृष्ट चिन्तन संस्था (थिंक ट्यांक) का रुपमा विकास गर्ने ।
  2. देशमा व्याप्त गरीबी, बेरोजगारी हटाउन कार्यक्रमहरु संचालन गर्ने तथा भ्रस्टाचार र कुशासनका विरुद्ध विशेष अभियान संचालन गर्ने ।
  3. शिक्षा जनस्वास्थ्य, वातावरण, प्राकृतिक स्रोत तथा जनसंख्या व्यवस्थापनसम्बन्धी अध्ययन अनुसन्धान तथा कार्यक्रमहरु संचालन गर्ने ।
  4. देशको समग्र आर्थिक, सामाजिक विकासमा सहयोग पु¥याउन नीतिगत तहमा सल्लाह र सुझाव प्रदान गर्ने ।
  5. शान्ति, सुशासन तथा मानवअधिकारका पक्षमा जनमत सृजना गर्न विभिन्न कार्यक्रमहरु तर्जुमा गरी अभियान संचालन गर्ने ।
  6. विभिन्न प्रकाशनहरु गर्ने ।

नेतृत्व

फाउन्डेसनको नेतृत्व आवधिक राष्ट्रिय सम्मेलनबाट हरेक तीन वर्षमा निर्वाचित हुन्छ । फाउन्डेसनमा अविच्छिन्न रूपले एकजना संरक्षक रहने व्यवस्था अनुसार हाल नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली संरक्षक रहनुभएको छ । फाउन्डेसनको केन्द्रमा एक जना निर्वाचित अध्यक्ष, एक केन्द्रीय कार्यसमिति, दैनिक कार्य सञ्चालन गर्न एक सचिवालय तथा पाँचवटा विभिन्न विभागहरु रहेका छन् । शिक्षा तथा अनुसन्धान विभाग फाउन्डेसनको एक महत्वपूर्ण अंग रही आएको छ ।

गतिविधि

फाउन्डेसनले राष्ट्रिय महत्वका विविध विषयमा निरन्तर छलफल र अन्तरक्रिया सञ्चालन गर्दै आएको छ । फाउन्डेसन अन्तर्गत काठमाडौंमा मदन भण्डारी मेमोरियल सामुदायिक कलेज सञ्चालित छ‚ जसले कम्प्युटर विज्ञान, मानविकी तथा समाजशास्त्र, व्यस्थापन र पत्रकारिता विषयमा स्नातकोत्तर तहसम्मको शिक्षा प्रदान गर्दछ । काठमाडौं गोकर्णेश्वरमा मदन भण्डारी मेमोरियल विद्यालय सञ्चालनमा रहेको छ, जहाँ माध्यमिक तह सम्मका विधार्थीहरूले अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । फाउन्डेसनबाट धेरै पुस्तक, नीति अनुसन्धान, कार्यपत्रहरु प्रकाशित छन् भने अनुसन्धानात्मक कार्यहरु पनि निरन्तर चलिरहेका छन् । शिक्षाको क्षेत्रबाट समाज र नागरिकको सेवामा लागिपर्ने फाउन्डेसनको उद्देश्यअनुरूप उच्च तहको अनुसन्धान कार्यलाई मद्दत गर्न मदन भण्डारी शैक्षिक कोषको स्थापना गरिएको हो ।