२०७९ सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार शेर्पा र मगरलाई
मदन भण्डारी फाउन्डेशनले हरेक वर्ष प्रदान गर्दै आएको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ यस वर्ष डा. मिंमार ग्याल्जेन शेर्पा र ‘मदन भण्डारी सामाजिक रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार’ तेक्वान्दो खेलाडी निरुकुमारी मगरलाई प्रदान गरिएको छ ।
जननेता मदन भण्डारीको ७२औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले बिहीबार राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।
डा. शेर्पाले विगत ४५ वर्षदेखि स्वास्थ्य सेवाको क्षेत्रमा संलग्न रही देशका दुर्गम स्थानका गरिब, असहाय तथा सेवाको पहुँचबाट वञ्चित रहेको समुदायलाई आफ्नो सेवाको अधिकांश समय विशेषत मातृ मृत्युदर घटाउन, आधारभूत स्वास्थ्य सेवाको सहज पहुँच उपलब्ध गराउन, ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम, दुर्गम जिल्लामा टेलिमेडिसिन सेवा लगायतमा सक्रिय भूमिका खेल्दै आउनु भएको छ ।
यसैगरी, मगरले कठिन पारिवारिक, आर्थिक, सामाजिक परिवेशका बाबजुद आफ्नै प्रयत्नका आधारमा विगत ३१ वर्षदेखि खेलप्रति निरन्तर समर्पित रहेर समाजमा विद्यमान खेलप्रतिको बुझाइ र महिला खेलाडीप्रतिको दृष्टिकोण परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेल्दै आउनु भएको छ । नयाँ पिँढीका खेलाडीका लागि उहाँ प्रेरणाको स्रोतको रूपमा रहनुभएको छ ।
मदन भण्डारी राष्ट्रिय पुरस्कार २०७९ का लागि १६ जना आवेदकमध्येबाट शेर्पालाई छनोट गरिएको थियो भने मदन भण्डारी सामाजिक रूपान्तरण राष्ट्रिय पुरस्कारका लागि पाँच आवदेकमध्ये मगरलाई छनोट गरिएको थियो ।
दुवै पुरस्कारको राशि जनही १ लाख र ताम्रपत्र रहेको छ ।